Pages

पत्रपुष्प र मेरा रहर

झिना-झाम्टा बोकेर बिदा माग्दैछ
अक्टोबर महिना
रुखका पहेंला र राता पातहरु जस्तै यहाँ
कयौं रहरहरु पँहेंलिएछन्
कति रगताम्ये छन्
मुदुङ्सान मा ठोक्किएर बहने चिसो बहावले
राता पातहरु बुरुरु झर्छन्
छरपष्ट भुईंमा आँखाहरु डुलाई
खोजिरहेछु मेरा, छताछुल्ल रहरहरु
तैपनि,
विवश यी पाईलाहरु
सुई र स्लाईन दिएर हुर्काईएको चोसुनको बोट जस्तै
लम्किरहेछन् निरन्तर
बिल्कुल अप्राकृतिक रुपमा ।

Oct 31, 2012. South Korea.
Autumn is a second spring when every leaf is a flower. ~Albert Camus

जडता भित्रको मर्म - लघु कथा

साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए । डाँडा माथिको घाम ओरालो झर्दै थियो ।
ऊनि एकदम अत्तालिएकी जस्ती देखिन्थिन् । निधारबाट चिटचिट निस्केका पसिना ऊनको चिऊँडो भन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा पनि बढी ऊनि हतारिएकी थिईन् । परबाट ऊनलाई एउटा हुलले पछ्याईरहेको थियो । ऊनि अत्तालिंदै अगाडी पछाडी हेर्दै, हुन सक्ने दुर्घटना बाट आफुलाई बचाउन प्रयासरत थिईन् ।

ऊनलाई चारैतिर पर्खालले घेरिएको आभाष हुन थाल्यो । डाँडा, पाखा अनि खोलाहरुले समेत ऊनको बाटो छेके झैँ लाग्यो । त्यो हुलको नियत माथि जो कोहीले अनुमान गर्न सक्थ्यो । केही क्षण पछि त त्यो हुलले चारैतिर बाट ऊनलाई घेर्यो । चारैतिर बाट शिकारीले घेरिएको प्राणी जस्तो झैँ निरिह थिईन् ऊनि । संम्भवत ति पहिलो जुनिमा गिद्द थिए होलान्, र त यस जुनिमा मानवरुपी नक्कली आवरणले ढाकिएर आफ्नो गिद्धत्व देखाई एक नारीको अस्मिता लुटिरहेका छन् । ऊनि आफुलाई ति गिद्दहरुको पन्जाबाट फुत्काऊने असफल प्रयास गर्दै थिईन् । आखिर उनको संघर्ष सफल हुन सकेन र जमिनमा मुढो लडे झैं बंल्यांग ढलिन् ।

ति रक्तपिपाशुहरु पौडिए, लाडिए ऊनको अस्मिता माथि, चुम्न सम्म चुमे ऊनको नारित्वलाई । ऊनको शरीर एकाएक भारी भए झैँ लाग्न थाल्यो, जमिन झन् झन् भासिए झैँ लाग्न थाल्यो । आकाश खसेर किचे झैँ लाग्न थाल्यो। ऊनको सहनशिलताले सीमा नाघिसकेको थियो । त्यसैले होला ऊनि चेतन शुन्य बनिसकेकी थिइन् । के छोड्थे ति मानवरुपि रक्तपिपाशुहरुले । नंग्याईरहे, चिथोरीरहे । कसले बुझ्ने उनको पीडा, दर्द अनि आँखाबाट खसेका बलिन्द्र आँशुका थोपाका मोल ?

अचानक उनले परबाट एकहुल ऊनि तिर आऊँदै गरेको देखिन् । मनमा आशाका लहर जागेर आयो, सहारा पाऊने अपेक्षामा । त्यो हुलले ऊनलाई कठोर संघर्ष गरेर ति रक्तपिपाशुहरुबाट छुटायो । बल्ल ऊनले सन्तोषको लामो सास फेरिन् । ऊनलाई आफ्नै चिताबाट ऊठेर पुनर्जिवन पाएको महशुश भईरहेको थियो । तर दुर्भाग्य, त्यो हुल पनि अघिल्लो भन्दा पृथक हुन सकेन । ऊनलाई सहारा दिनुको सट्टा अर्थात् ऊनको नग्नतालाई छोपि लाज बचाऊनुको सट्टा ऊनको नग्नताबाट आफ्नो प्यास तृप्त पार्न ऊनिहरु पनि ऊद्धत रहे । जहाँ पायो त्यही आफ्नो पंजा फैलाऊन थालेका थिए । सायद ऊनि अब अभ्यस्त भइसकिन्, कि ति गिद्धहरुका लुछान र चुडानबाट ऊनका अंग अंग अब निर्जिव झैँ भएका थिए । सब ऊनका आशाहरु पनि जड झैँ भैसकेका थिए, मुक्त हुने आकांक्षाहरु ।

त्यसैबेला अर्को हुल पुन: ऊनितिर पाईला अगाडी बढाईरहेका थिए, ऊनलाई मुक्त पार्ने दृढताका साथ । तर अचम्म, कसरी भरोसा गर्ने ति नव आगन्तुक हुलको । अरु त आएपछी नांगिएका थिए, तर यिनीहरु त आऊनु अगावै नांगिसकेका छन् । ...... बिचरी ऊनि ढलिदिएकी छिन् जड बनेर, मन चाहेको गर्नलाई । बिचरी ऊनि, बिचरी नेपाल आमा .......................... ।

- प्रकाश प्रसाई

January 23rd, 2010 मा माई संसार डट कम को शनिबार साहित्य मा प्रकाशित
यहाँ क्लिक गर्नुहोस्